देवदह । विभेद रहीत समाज निर्माणमा महिलाहरुको महत्वपूर्ण भूमिका रहने नेकपा एमालेका केन्द्रिय सदस्य शिवराज सुवेदीले बताउनु भएको छ।
उहाले महिला मुक्ति भएमात्र समाजमा रहेका विभेद अन्त्य गर्न सकिनेमा जोड दिनु भयो। नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ क्षेत्र नम्वर १, रुपन्देहीको प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो। नेता सुवेदीले अखिल नेपाल महिला संघले गरेको आन्दोलनका कारण २०७२ सालको संविधानमा महिलाहरुको अधिकार स्थापित गर्न सफल भएको दावी गर्नु भयो। उहाले अहिले पनि महिला माथि विभेद र शोषण कायम रहेको बताउदै विभेद रहीत समाज निर्माण गर्न महिला आर्थिक विकास संग जोडिनु पर्नेमा जोड दिनु भयो।
यसैगरी नेकपा एमालेका केन्द्रिय सदस्य सावित्रा अर्यालले महिलाहरुको निरन्तरको आन्दोलनले मात्र संविधानमा महिलाहरुको अधिकार स्थापित गर्ने काम गरिएको भन्दै अझैपनि कार्यान्वयनमा समस्या रहेको बताउनु भयो। उहाले भातृ संगठन मजबुत भएमात्र पार्टी बलियो हुनेमा जोड दिनु भयो। उहाले संविधानले दिएको अधिकार अहिले गठबन्धनको नाममा कटौती भईरहेको दावी गर्नु भयो।
सोही अवसरमा बोल्दै केन्द्रिय सदस्य गोमादेवी आर्चायले देशमा व्याप्त रहेको पितृसत्तात्मक सोचको अन्त्यको लागि महिलाहरु एकजुट हुन आवश्यक रहेको औल्याउनु भयो। उहाले संविधानमा महिलाहरुको अधिकार उल्लेख गरिएपनि केही अधिकारीहरु कार्यान्वयन हुन नसकेको बताउनु भयो। उहाले जनसंख्याको आधारमा राज्यको हरेक निकायमा महिलाहरुको सहभागिता आवश्यक रहेकोमा जोड दिनु भयो।
प्रथम क्षेत्रीय सम्मेलनले विष्णु घिमिरेको अध्यक्षतामा ३१ सदस्यीय अखिल नेपाल महिला संघ क्षेत्रीय कमिटी गठन गरेको छ। जसको उपाध्यक्षद्धयमा सरस्वती थापा, सरस्वती पाण्डे, सचिवमा सरीमाया गुरुङ्ग, उपसचिवमा रिमाकुमारी चौधरी, कोषाध्यक्षमा लक्ष्मी भण्डारीलाई चयन गरिएको छ। यसैगरी सदस्यहरुमा सावित्रा भूषाल, विष्णु भारती, गायत्री अधिकारी, सरला अर्याल, मिना केसी, लक्ष्मी भण्डारी, भगपती भट्टराई, लक्ष्मी पाण्डे, ईश्वरी न्यौपाने, शुसिला यादव, कोइली चमार, कौशिल्या चमार, निर्मला नायक, सुनिल्का खवास, आशा क्षेत्री रहनु भएको छ। अखिल नेपाल महिला संघ रुपन्देहीका सदस्य एवं क्षेत्रीय सहसंयोजक देवी अधिकारीको अध्यक्षता, देवदह ईन्चार्ज देवु भट्टराईको स्वागत र शिला मल्लको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।