जगिलाल थापा, कञ्चन ।
विश्व स्तनपान सप्ताह एक वार्षिक उत्सव हो जुन, १ देखि ७ अगस्टसम्म प्रत्येक वर्ष आयोजित गरिन्छ। वर्ल्ड अलायन्स फर ब्रेस्टफिडिङ एक्सन, विश्व स्वास्थ्य संगठन, र युनिसेफ एकसाथ जीवनको पहिलो ६ महिनाको लागि पूर्ण स्तनपानलाई बढावा दिने लक्ष्य लिएर आएको यस साताव्यापी उत्सवको उदेश्य नयाँ आमाबुबाहरुको बीच जागरूकता पैदा गर्न र संसारभरमा शिशु स्वास्थ्यमा सुधार गर्नु हो।
रुपन्देहीको कञ्चनमा पनि स्तनपान मैत्री कार्यस्थथलको सुनिश्चित्ता, सबै सरोकारवालाहरुको प्रतिवद्धता भन्ने नारा सहित आज देखि विश्व स्तनपान सप्ताहको शुभारम्भ गरिएको छ। आज देखि साउन २२ गते सम्म मनाइने सप्ताहव्यापी कार्यक्रममा स्तनपान आमा र बच्चाको स्वास्थ्यका लागि अमृत समान भन्ने सन्देश प्रवाह गर्न सहयोग पुग्ने कञ्चन गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले जानकारी दिनु भएको छ।
शिशु जन्मेको १ घण्टाभित्र आमाको दुध खुआऔंं, शिशुलाई जन्मेदेखि ६ महिना पुरा भएसम्म आमाको दुध मात्र खुवाऔं जस्ता सन्देश हरेक व्यक्तिहरुमा पुर्याउन सचेतनामुलक सप्ताहव्यापी कार्यक्रम गरिएको स्वास्थ्य शाखा प्रमुख गौतमले बताउनु भएको छ।
स्तनपान के हो ?
सामान्यतया शिशुलाई आफनै आमाको दूध चुसाउनु स्तनपान हो। प्रारम्भिक स्तनपान र पूर्ण स्तनपान गरी स्तनपानको दुई वटा मूलभूत मापदण्ड रहेका छन।
शिशु जन्मेको एक घण्टाभित्र आमाको दूध ख्वाउन सुरु गर्नु लाई प्रारम्भिक स्तनपान भन्ने गरिन्छ। यसो गर्नाले शिशुले दूध चुस्ने क्षमता प्राप्त गर्दछ। शिशुको शरीरमा ग्लुकोजको कमि हुनबाट बचाउँछ। साथै बच्चा जन्मेदेखि केही दिनसम्म आउने पहेलो प्रकारको बिगौती दूधमा रोगसँग लड्न सक्ने प्रतिरक्षा क्षमता (एन्टिबडी) धेरै हुने भएकोले बच्चालाई रोग लाग्नबाट समेत बचाउने हुँदा यसलाई शिशुको पहिलो प्राकृतिक खोपको रुपमा पनि लिइएको छ, भनिन्छ।
यसैगरी शिशु जन्मेदेखि ६ महिनासम्म आमाको दूधमात्र खुवाउनु नै पूर्ण स्तनपान हो। शिशुको लागि आवश्यक पर्ने पानी, मिनिरल्स, ग्लुकोज तथा अन्य भिटामिन र रोग प्रतिरक्षात्मक तत्व समेत आमाको दूधमा नै प्रायाप्त हुने भएकोले अन्य कुनै पनि किसिमको थप खाना खुवाउन आवश्यक हुँदैन।
यसरी ६ महिनासम्म स्तनपान गराउँदा शिशुहरुको शारीरिक र मानिसक वृद्धि र विकासका लागि सहयोग पुग्दछ। पूर्ण स्तनपान गराएका बच्चाहरुको दिमागी क्षमता अन्य बच्चाभन्दा तीक्ष्ण हुने हुन्छ। संक्रामक रोगबाट बच्ने र आर्थिक भार पनि नपर्ने तथा आमाको स्वास्थ्यमा समेत सकारात्मक फाइदा भएकोले स्तनपान अमृत समान मानिएको हो।
दीर्घकालीन रुपमा बच्चाको मृत्युदर घटाउन समेत स्तनपानको भूमिका रहेको छ। शिशु ६ महिना पुग्ना साथ आमाको दूधका साथसाथै पोषिलो थप आहार खुवाउन थाल्नु पर्दछ र कम्तीमा दुई वर्षसम्म थप आहारका साथ स्तनपानलाई पनि निरन्तरता दिनु पर्दछ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को परिच्छेद ३ को दफा १३ मा उल्लेख गरिएको प्रसूति बिदाको अधिकार भित्र नवजात शिशुलाई स्तनपान प्रवर्द्धन र सहजिकरणको लागि ९८ दिन पूर्ण तलबी बिदाको कनाुनी व्यवस्था गरेको छ । यस्तै आवश्यक परेमा चिकित्सकको राय सल्लाहअनुसार बढीमा एक वर्षसम्म बेतलबी बिदा पाउने अधिकारको व्यवस्था गरेको छ।
सबै प्रकारको सरकारी, गैर सरकारी वा निजी संघ–संस्थाले आफ्नो कार्यलयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यलय समयमा आमाको दूध खुवाउनको लागि आवश्यक व्यवस्था मिलाउनु पर्ने उल्लेख छ।
कञ्चनमा विश्व स्तनपान सप्ताह शुरु, स्तनपान आमा र बच्चाको लागी अमृत समान
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??