कञ्चन
स्वतन्त्र पार्टी,कञ्चन ३ रुपन्देहीद्वारा खानेपानीको महसुल अत्याधिक बढी महंगो भएको भन्दै रुद्रपुर सुनगाभा हर्नाचौर हरैया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा बुधवार ध्यानाकर्षण पत्र बुझाएको छ । २०७८ साल देखि खानेपानीको महसुल सर्वसुलभ मुल्यमा उपभोग गर्दै आइरहेको तर असार महिनामा उपभोक्ताले ठेग्न नसक्नेगरी अत्याधिक महसुल आएकोबारे उपभोक्तो गुनासो आएको र सोबारे स्पष्टीकरण दिनु पर्ने भन्दै सो ध्यानाकर्षण गराएको हो।गत जेठ महिना सम्म उक्त संस्थाले प्रति १० युनिटको १०० रुपैया महसुल लिएकोमा असार महिनामा बढी मुल्यको बिल आएको उपभोक्त गुनासोलाई सम्बोधन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी, कञ्चन ३ ले वडा नं. ३ को कार्यालयमा समेत ध्यानाकर्षण पत्र दिएको हो। संस्थाबाट भएको गम्भिर त्रुटी तत्काल सच्याउनु पर्ने माग गर्दै रुद्रपुर सुनगाभा हर्नाचौर हरैया खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, कञ्चन ३ का कार्यालय सचिव र वडा कार्यालयमा कार्यवाहक वडा अध्यक्ष अम्बिका कुमारी पुन मार्फत ध्यानाकर्षण पत्र बुझाएको हो।
रास्वपा, कञ्चन ३ का अध्यक्ष इमानन्द आचार्यद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा संस्था सबैको साझा हो र संस्थालाई घाटा हुने काम कोही कसैबाट गरिनु हुदैन भन्दै संस्थाका जिम्मेवार ब्यक्तीहरुबाटै भएको गैर जिम्मेवारीपुर्ण कार्यले गर्दा अपत्यारिलो र अस्वभाविक रुपमा आएको महसुलका कारण उपभोक्तामा पर्न गर्न गएको समस्या समाधानका लागि पुनःविचार गर्न आग्रह गरिएको छ।





