काठमाडौं ।
जिल्ला अदालत काठमाडौंले एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ जनालाई सोमबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । जिल्ला अदालतले उनीहरुलाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिनुभएको छ । यसअघि सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको थियो । त्यसैले थुनुवाहरुलाई हिरासतमा राख्ने अनुमति उच्च अदालत पाटनबाट लिइएको थियो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा राजस्व अनुसन्धान विभागले सिनामंगल क्षेत्रबाट बरामद गरेको थियो।