काठमाण्डौ ।
आउँदो तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज दिउँसो १२ बजे विशेष बुलेटिन निकालेर भोलि शनिवारदेखि आउँदो सोमवारसम्म देशका विभिन्न भागमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना देखिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । मनसुनको न्यून चापीय रेखा नेपालतिर सर्न लागेकाले भोलि राति देशका धेरै ठाउँमा वर्षा हुनेछ । महाशाखाका अनुसार कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनीका थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा नजिक पर्दा पानी धेरै पर्छ । यो रेखा अहिले नेपाल नजिक आइपुगेको विभागले जनाएको छ । महाशाखाले निकालेको विशेष मनसुन बुलेटिनमा पर्सि आइतबार र सोमबार पनि धेरैजसो प्रदेशमा सामान्यदेखि मध्यम वर्षा हुने भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा सोमवार पनि अत्यधिक वर्षा हुनसक्ने सम्भावना छ ।