काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कनु भएको छ । संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी उहाँ आज स्वदेश फर्कनुभएको हो । उहाँलाई सिचुवान प्रान्तका उपगभर्नर याङ जिङपिङ, नेपालका लागि चिनियाँ राजदूत, बेइजिङ र सिचुवानका विदेश मामिला कार्यालयका उच्चपदस्थ अधिकारीले छेन्दु विमानस्थलमा बिदाइ गर्नुभएको थियो ।
आठ दिनको चीन भ्रमणका लागि न्युयाेर्कबाट सिधै चीन जानुभएका प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका जानुभएको हाे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, लगायत नेपाल सरकारका उच्च अधिकारी, नेपाली सेनाले स्वागत गरेका हुन् । चीनमा रहँदा उहाँले चीनका राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्नुभयो । त्यस्तै, प्रधानमन्त्री प्रचण्डले चीनका प्रधानमन्त्री ली छ्याङसँग नेपाली प्रतिनिधिमण्डलसहित उच्चस्तरीय भेटवार्ता गर्नुभयो । भेटवार्तामा दुई देशबीच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।