इजरायली रक्षा मन्त्रालयले गाजामा एक हजार सात सय बढी प्रहार गरेको भन्दै हमासका ७३ वटा कमाण्ड सेन्टर, ४७५ वटा रकेट प्रणाली र २२ वटा भूमिगत अखडा ध्वस्त बनाएको दाबी गरेको छ । गाजामा पानी, विजुली, इन्धन, खाद्यान्न लगायतको आपूर्ति बन्द गरेर इजरायलले भीषण बमबारी थालेको हो ।
उता, प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले इजरायली हमलाबाट अहिलेसम्म ७ सय ४ जना मारिएको भन्दै मारिनेहरुमा १४३ बालबालिका र १०५ जना महिला रहेको जनाएको छ । आक्रमणबाट ४ हजार सर्वसाधारण घाइते भएको प्यालेस्टिनी दाबी छ ।
यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरालयले युद्धको शुरुवात नै नगरेको भन्दै शत्रुहरुले दशकौंसम्म सम्झिरहने गरी युद्धको अन्त्य गरिदिने चेतावनी दिनुभएको छ । हमासले इजरायलमाथिको आक्रमण अक्षम्य गल्ती थियो भनेर सधैं सम्झिरहने उहाँको भनाइ छ ।




