देवदह । रुपन्देहीको देवदहमा आयोजित वडास्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधी देवदह–५, ले हात पारेको छ। बुद्ध सामुदायिक वन उपभोक्ता समुहको आयोजना, देवदह–५, ६ वडा कार्यालयको सहयोगमा उक्त प्रतियोगिता भएको हो।
प्रतियोगिताको फाईनल खेलमा देवदह–६, लाई हराउदै देवदह–५, ले उपाधी हात पारेको हो। वेस्टप फाईवको आधारमा खेलाईएको खेलमा देवदह–५, ले ३ सेट र देवदह–६, ले २ सेट जित्न सफल भएको थियो। खेलमा देवदह–५, ले पहिलो सेट २५–२०, दोश्रो २५–१८ र तेश्रो सेटमा १५–११ मा ३ सेट जित्दै प्रथम हुन सफल भएको छ भने देवदह–६, ले २५–२०, २५–२१ मा २ सेट जित्दै उपविजेता बनेको छ।
प्रतियोगितामा प्रथम हुने देवदह–५, ले नगद ३५ हजार प्राप्त गरेको छ भने, उपविजेता टिम देवदह–६, ले नगद २५ हजार प्राप्त गरेको छ। खेलमा देवदह–५, ले देवदह–१०, चरेङ्गेलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो भने देवदह–६, ले सरनवारीलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो। यसैगरी प्रतियोगितामा देवदह–१०, चरेङ्गे तृतिय हुदै नगद १५ हजार प्राप्त गरेको छ भने सरनवारी सान्त्वना हुदै नगद ५ हजार प्राप्त गरेको छ।
प्रतियोगिता अवधिभर उत्कृष्ट खेलाडीको रुपमा देवदह–६, का खेलाडी आशिष गुरुङ्ग घोषित भएका छन्। यसैगरी खेल अवधिभर लिव्रोमा देवदह–५, खेलाडी सागर आले, वेष्ट स्पाईकर देवदह–५, कै अशोक सुनार र वेष्ट व्लकर देवदह–१०, मोहन सिंजाली घोषित भएका छन्।
बुद्ध सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टेकबहादुर रानाको अध्यक्षता र देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर प्रवक्ता गणेश डुम्रे, देवदह–६, का वडा सदस्य खेमनारायण अधिकारी, देवदह–५, का वडा सदस्य संगीता विक लगायतको सहभागिता रहेको थियो। बुद्ध सामुदायिक वन उपभोक्ता समुहका लेखा संयोजक सन्तोष भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।