काठमाडौं । भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधवारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ । नाकामा पुल मर्मत कार्य सम्पन्न भइसकेकाले आजदेखि पूर्ण रुपमा आवागमन सुचारु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।
झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुंगे पुलको मर्मत सम्भार कार्य भइरहेकाले असोज ९ गतेदेखि आंशिक रुपमा मात्रै आवतजावत भइरहेको थियो । झुलाघाट नाका पूर्ण रुपमा सञ्चालनमा आएसंगै दशैंका लागि घर फर्कने नागरिकलाई सहज भएको छ । बैतडीका शक्तिपीठहरुमा दर्शनका लागि आउने भारतीय दर्शनार्थीहरुलाई समेत सहज भएको छ । बैतडीका निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, उदयदेव लगायतका मन्दिरहरुमा दर्शनका लागि दशैंको समयमा भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् ।
झुलाघाट नाकामा करीब दुई सय वर्षअघि इष्टइण्डिया कम्पनीले निर्माण गरेको झोलुंगे पुलबाट आवतजावत हुँदै आएको छ ।