काठमाडौं ।
भारतले जाजरकाेट भूकम्प पीडितका लागि १० कराेड रुपैयाँ बराबरकाे आपत्कालीन राहत सामग्री हस्तान्तरण गरेको छ । आज आइतवार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगञ्जमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई पहिलाे खेप राहत सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
भारतले हस्तान्तरण गरेकाे ११ टनभन्दा बढी आपत्कालीन राहत सामग्रीमा त्रिपाल, कम्बल र डस्ना, झोलाका साथै आवश्यक औषधि र ‘पोर्टेबल’ भेन्टिलेटर लगायत छन् । गएकाे शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर छ दशमलव चार रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे ।
भारतले २०७२ सालकाे भूकम्पपछिको आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा पुनःनिर्माणका लागि नेपाललाई एक अर्ब अमेरिकी डलर सहयोग गरेको थियो भने गोरखा र नुवाकोटमा ५० हजार घरको पुनःनिर्माणसमेत गरेको थियो ।