काठमाडौं ।
सरकारबाट आममाफी पाएका रेशम चौधरी विरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।
टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो।
गणतन्त्र दिवसको अवसरमा गएको जेठ १५ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई बाँकी कैद मिनाहा हुने गरी माफी दिनुभएको थियो । क्रुर, अमानवीय र गम्भीर मानव अधिकार उल्लङ्घनको घटनामा संलग्नलाई राष्ट्रपतिले माफी मिनाहा दिएको भन्दै यसको चौतर्फी आलोचना भइरहेको छ ।
राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै कडायतले राष्ट्रपतिको कार्यालय शीतलनिवास तथा रेशमलाल चौधरीलाई विपक्षी बनाइ रिट दायर गर्नुभएको थियो । यसअघि गएको १६ गते सर्वोच्च अदालतले सरकारबाट आममाफी पाएका योगप्रसाद ढकाल रिगलको कैद मिनाहालाई बदर गरिदिएको थियो ।
नेपालगञ्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएर जेलमा रहेका रिगललाई सरकारले संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिएको थियो । रिगल फेरि जेल चलान भएका छन् ।