एजेन्सी ।
भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण पुनः बढेर मानव स्वास्थ्यका लागि खतरनाक अवस्थामा पुगेको छ ।विश्व स्वास्थ्य सङ्गठनले वायु प्रदूषण मापन सूचक एक्यूआई चार सयभन्दा माथि जाँदा मानव स्वास्थ्यका लागि खतरनाक हुने उल्लेख गरेको छ ।
दिल्लीको एक्यूआई पाँच सयभन्दा माथि पुगेको छ । अघिल्लो हप्ता पनि प्रदूषण बढेर विद्यालय बन्द गर्नुका साथै गाडीमा जोरबिजोर प्रणाली लागू भएको थियो ।सामान्य वर्षा भएर केही घटेकोमा दिवालीमा पटकालगायतका विस्फोटक वस्तु पड्काउँदा पुनः बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो वर्ष मात्रै प्रदूषणका कारण दिल्लीको अर्थतन्त्र ३ अर्ब ७० करोड अमेरिकी डलरबराबरको क्षति भइसकेको ग्रीपपिस नामको संस्थाले गरेको अध्ययनले देखाएको छ ।
यसैबीच दिल्ली सरकारले प्रदूषणको मात्रा घटाउन कृत्रिम वर्षा गराउने तयारी गरेको छ । इन्डियन इन्स्टच्युट अफ टेक्नोलोजी (आईआईटी) सँगको सहकार्यमा दिल्लीमा यही हप्ता कृत्रिम वर्षा गराउने तयारी गरेको दिल्ली सरकारले जनाएको छ । सर्वोच्च अदालतबाट अनुमति पाउन बाँकी छ । आईआईटीले गएको जुलाईमा भारतमा कृत्रिम वर्षा गराउने सफल परीक्षण गरेको थियो।




