जाजरकोट ।
जाजरकोटमा भूकम्पपछि त्रिपालमा बस्दै आएका चार जना दीर्घरोगीको ज्यान गएको छ । गएको कात्तिक १७ गतेको भूकम्पपछि दुई हप्तामा तीन जना वृद्ध र एक महिलाको ज्यान गएको हो । घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्कीको मङ्गलवार र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको अस्ति बुधवार ज्यान गएको स्थानीयवासीले बताएका छन् ।
यसअघि कात्तिक २४ गते शुक्रवार नलगाड नगरपालिका–४ का ८४ वर्षका गोपालबहादुर रावल र ४८ वर्षकी पम्फा रावलको ज्यान गएको थियो । गोपालबहादुर दम र पम्फा निमोनियाबाट पीडित हुनुहुन्थ्यो । भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा धेरै परिवार त्रिपालमुनि बस्दै आएका छन् । त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन्। बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या पनि देखिन थालेको छ ।