एजेन्सी ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पूर्वी र दक्षिणी अफ्रिकाका पाँच वटा देशमा एन्थ्र्याक्स रोगको प्रकोप फैलिएको बताएको छ । जिम्बावे, केन्या, मलावी, युगान्डा र जाम्बिआमा रोग देखिएको हो ।
डब्ल्यूएचओका अनुसार यो रोगका एक हजार एक सय जनाभन्दा धेरै सम्भावित बिरामी फेला परेका छन् । ३७ जनामा यो रोग लागेको पुष्टि भएको छ । एन्थ्र्याक्स रोगसँग सम्बन्धित कारणले अहिलेसम्म २० जनाको ज्यान गएको सम्बन्धित निकायलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।
यो रोग ‘ब्यासिलस एन्थ्र्यासिस’ नामक ब्याक्टेरियाका कारण लाग्छ । एन्थ्र्याक्स प्रायः घरपालुवा जनावरलाई लाग्छ तर मानिसमा पनि यो रोग सर्न सक्छ ।
याे राेगकाे सङ्क्रमण हुँदा शुरुमा छालामा ठेला उठेजस्तो देखिन्छ र बिस्तारै नदुख्ने घाउ बन्छ । त्यसपछि सङ्क्रमित व्यक्तिलाई टाउको दुख्ने, मांसपेशी दुख्ने, बान्ता हुने र ज्वरो आउने हुन्छ । अझ जटिल हुँदै बिरामीलाई पेटमा असह्य पीडा हुने, रगत बान्ता हुने र गम्भीर पखाला लाग्न सक्छ । एन्टिबायोटिक प्रयोग गरेर यसको उपचार गर्न सकिन्छ । तर सङ्क्रमण हुनासाथ उपचार शुरु गर्नुपर्ने अमेरिकाको जनस्वास्थ्य हेर्ने निकाय (सीडीसी) ले जनाएको छ ।