धनुषा ।
जनकपुरधाममा श्रीसीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म जाँड–रक्सी र माछामासु बिक्री गर्न राेक लगाइएको छ । आज मङ्गलवार सूचना जारी गर्दै मङ्सिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म जाँड–रक्सी र माछामासुको बिक्री गर्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको हो ।
सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउनका लागि जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको प्रशासकीय अधिकृत विश्वविजय शर्माले जानकारी दिनुभयो ।
निर्देशकको पालना नगरे प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।