झापा ।
भारतबाट नेपाल प्रवेश गरेका ३६ जङ्गली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित भएका छन्। झापा, मोरङ र सुनसरी क्षेत्रका जङ्गलमा विचरण गर्दै आएका ती हात्तीबाट जीउधनको सुरक्षा कसरी गर्ने भन्नेबारे चिन्ता बढेको हो।
एक महिनामा हात्तीको आक्रमणमा परेर झापामा दुई, मोरङमा एक र सुनसरीमा एक गरी चारजनाको मृत्यु भइसकेको छ। मेचीनगर नपा–४ का हात्ती संरक्षण अभियानकर्मी शङ्कर लुइँटेलका अनुसार गत कात्तिक ३ गते बाहुनडाँगीको सीमा क्षेत्रबाट ती हात्ती नेपाल पसेका थिए।
हिउँदयाममा बर्सेनि यसरी नै भारतबाट हात्तीको ठूलो बथान नेपाल आउने गरेका छन्। डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले हाल ती हात्ती मोरङको कानेपोखरी जङ्गलमा आश्रय लिएर बसेको बताउनुभयो ।