बुटवल ।
रुपन्देही उद्योग संघले आगामी दुई वर्षमा गर्ने कार्ययोजना तयार गर्दै गोष्ठी सम्पन्न गरेकाे छ । तीन दिन सम्म चितवनको सौराहमा आयोजना गरेको कार्ययोजना कार्यशाला गोष्ठी आगामी दुई वर्षमा गर्ने कार्ययोजना तयार गर्दै समापन गरेको छ ।
दीगो आर्थिक व्यवस्थापन, सम्बन्ध बिस्तार प्रभावकारी सेवा र प्रवद्र्धनका विषयमा विशेष योजना बनाउँदै संघले रणनीति बनाएको हो । संघमा नयाँ नेतृत्व आएपछि त्यो नेतृत्वले दुई वर्षे कार्ययोजना बनाउने योजना अनुरुप आगामी दुई वर्षको कार्ययोजना बनाउन पदाधिकारी, कार्यसमिति सदस्य तथा सल्लाहकारहरुसहिको तीन दिने कार्यशाला आयोजना गरिएको अध्यक्ष दिलिप सापकोटाले बताउनुभयो ।
वहाँले अग्रज, संस्थापक उद्योगीहरुको उद्देश्यलाई ध्यान दिँदै संस्थाले आगामी कार्यकालमा पूरा गर्नसक्ने योजनालाई समेटेर मात्रै रणनीति तय गरेको र उद्योगीहरुले अपनत्व गर्नेगरी संघलाई अगाडि बढाइने जनाउनु भयाे ।
कार्ययोजना बैठकमा प्रशिक्षक इन्द्र श्रेष्ठले संस्थाको रणनीति र कार्ययोजनाका विषयमा सहजीकरण गर्नुभएकाे थियाे । कार्ययोजना समापन कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु महेन्द्रनारायण श्रेष्ठ, तेजकुमार पाठक, निवर्तमान अध्यक्ष माधव प्रसाद पौडेलले उद्योग संघको इतिहासलाई जोगाउने र उद्योगीको हित र संरक्षणलाई जोगाउँदै अगाडि बढ्न नयाँ नेतृत्वलाई आग्रह गर्नुभएकाे थियाे ।
कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुलीले तीन दिने कार्यशालाले संस्थाको आगामी योजना बनेको र सबैको साथमा त्यो योजना पूरा हुने बताउनु भयो ।
संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले संस्थाको श्राेत परिचालन, उद्योगीका समस्या पहिचान र संस्थागत विकासका योजनामा रणनीति तयार गरेको जानकारी दिनु भएको थियो । महासचिव हिरामणी भट्टराईले संचालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष जीवकान्त काफ्लेले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।