एजेन्सी ।
भारतमा हालै संशोधित एउटा कानुनको विरोधमा सार्वजनिक (यात्रुवाहक तथा मालवाहक) सवारी साधनका चालकहरु हड्तालमा उत्रिएका छन् । चालकहरुको हड्तालका कारण बस तथा ट्रक सेवा ठप्प छ । जसले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ।
भारतीय न्याय संहितामा भएको संशोधनका कारण भारतीय सवारी चालक हड्तालमा उत्रिएका हुन् । दुर्घटनापछि भाग्ने (हिट एण्ड रन) मामिलामा दोषी पाइने चालकलाई ७ लाख भारु जरिवाना र १० वर्षसम्म जेल सजायको प्रावधान राखिएकोमा चालकहरुले असन्तुष्टि जनाएका छन् ।
अल इन्डिया मोटर ट्रान्सपोर्ट कांग्रेस’ (एआईएमटीसी) का अध्यक्ष अमृतलाल मदानका अनुसार संशोधित व्यवस्थाले यातायात क्षेत्रलाई थप खतरामा पारेको छ । ‘हिट एण्ड रन’ मामिलामा यसअघि दुई वर्ष कैदको प्रावधान थियो । तर संशोधित प्रावधान अनुसार कुनै पनि चालक दुर्घटनास्थलबाट भाग्छ वा प्रहरी तथा मजिस्ट्रेटलाई दुर्घटनाबारे सूचना नदिइ बस्छ भने त्यस्तो चालकलाई १० वर्षसम्मको जेल सजाय र जरिवानासमेत हुन सक्छ ।
एआईएमटीसीका अध्यक्ष मदानका अनुसार भारतमा दुर्घटना छानबिन प्रोटोकलको अभाव छ । यस कारण पनि दुर्घटनाका बारेमा निष्पक्ष छानबिन हुन नसक्ने र चालकलाई नै दोषी ठहर गरिने परम्परा रहेको उनले बताए । उनका अनुसार दुर्घटनास्थलबाट भाग्ने उद्देश्य कुनै पनि चालकको हुँदैन तर आसपास जम्मा हुने भिडबाट जोगिनका लागि चालकहरु भाग्ने गर्दछन् ।
चालकहरुको हड्तालका कारण भारतका विभिन्न राज्यमा इन्धनको आपूर्तिसमेत अवरुद्ध भएको छ । विभिन्न सहरका पेट्रोल पम्पमा इन्धन भर्ने सवारी साधनको लामो लाइन लागेको छ भने कतिपय पम्पमा इन्धनको स्टक रित्तिएको छ ।
विभिन्न सहरमा सार्वजनिक यातायातको प्रतीक्षामा बसिरहेका यात्रीको भिड देखिएको छ । केही स्थानमा चालकहरु र प्रहरीबिच झडप भएको समाचार पनि प्रकाशमा आएका छन् ।