रुपन्देही ।
लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयमा अब आफ्नै सवारी साधनबाट ‘ट्रायल’ दिन पाउने व्यवस्था लागू हुने भएको छ । सेवाग्राहीले आफ्नै गाडी तथा मोटरसाइकल प्रयोग गरेर ‘ट्रायल’ परीक्षा दिन माग गरेअनुसार यो व्यवस्था लागू गर्न यातायात कार्यालयहरूलाई निर्देशन दिएको लुम्बिनी प्रदेश अन्तरगत उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले जानकारी गराएको छ ।
अब सेवाग्राहीले सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’ दिने क्रममा प्रयोग हुने गाडी स्वेच्छाले प्रयोग गर्न सक्ने श्रम तथा यातायात व्यवस्था महाशाखा प्रमुख राजेन्द्रप्रसाद पन्थीले बताउनुभयो । हिजो लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयका प्रमुखहरूसँगको छलफलमा उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले सेवाग्राहीलाई उनीहरूकै गाडी प्रयोग गर्नका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो ।
लाइसेन्सको लिखित परीक्षामा पास हुन १०० पूर्णाङ्कमा ६० अङ्क ल्याउनुपर्छ र’ ट्राय’ल परीक्षामा ७० अङ्क कटाए मात्रै पनि पास हुने नियम लागू भईसकेको छ ।