एजेन्सी ।
इजरायलले गाजामा प्यालेस्टिनकाे नरसंहार गरेकाे मुद्दामा संयुक्त राष्ट्र सङ्घकाे अन्तर्राष्ट्रिय अदालतले आजदेखि सुनुवाइ गर्दैछ । ‘गाजामा प्यालेस्टाइनीको नरसंहार’ गरेको आरोपमा दक्षिण अफ्रिकाले दायर गरेको मुद्दाको आजदेखि हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतमा सुनुवाइ हुन लागेको बीबीसीले जनाएको छ ।
दक्षिण अफ्रिकाले दायर गरेको मुद्दामा इजरायलाई तुरुन्तै सैन्य कारबाही रोक्न माग गरिएको छ । यो मुद्दामा अदालतले सजाय नभई राय मात्र दिनेछ । किनकि यो मुद्दा आपराधिक होइन । यद्यपि यसलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेका छन् । दक्षिण अफ्रिकाले आज र इजरायलले भोलि आफ्नो पक्षमा बहस गर्ने खबरमा उल्लेख छ । मुद्दामा दक्षिण अफ्रिकाले इजरायलको आक्रमणको उद्देश्य प्यालेस्टिनी राष्ट्रिय र जातीय समूहको ठूलो हिस्साको समाप्त गर्नु रहेको आरोप लगाएको छ ।
गाजामा निहत्था नागरिक मार्ने, घाइते बनाउने, शारीरिक र मानसिक यातना दिने लगायतका काम इजरायलले गरिरहेको पनि आरोप छ । तर इजरायलले दक्षिण अफ्रिकाको आरोपलाई निराधार भन्दै कडाइका साथ अस्वीकार गरेको छ ।