एजेन्सी ।
आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् । विश्व क्रिकेटमा भर्खरै अगाडि आउँदै गरेको राष्ट्र हो, अमेरिका । त्यसैले विश्वकप आयोजनाका लागि अमेरिकाले क्रिकेटका नयाँ पूर्वाधारहरु पनि धमाधम तयार पार्दैछ ।
यसैक्रममा आगामी विश्वकपलाई ध्यानमा राखी न्यु योर्कमा निर्माण गरिएको नयाँ नसाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियमको बुधबार अनावरण गरिएको छ । उक्त क्रिकेट मैदानको निर्धारित समयभन्दा अगाडि नै अनावरण गरिएको समाचारमा जनाइएको छ । अन्तर्राष्ट्रिय स्तरको उक्त क्रिकेट स्टेडियम ३४ हजार दर्शक क्षमताको रहेको छ । उक्त रंगशालामा आगामी विश्वकपका आठवटा खेल खेलाउने कार्यक्रम रहेको छ । विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबिचको खेल पनि जुन ९ तारिखमा सोही रंगशालामा खेलाइने कार्यक्रम रहेको छ ।
उक्त रंगशालामा विभिन्न वर्गका दर्शकको लागि छुट्टाछुट्टै क्षेत्र र सिटको ब्यवस्था मिलाइएको छ । विशिष्ठ अतिथिहरुका लागि सुविधा सम्पन्न क्याबिनको ब्यवस्था पनि गरिएको छ । उक्त रंगशालामा भारत र पाकिस्तानबिचको खेलका अतिरिक्त अन्य सात पनि खेलाइने छ ।
हाल क्रिकेट रंगशाला बनाइएको स्थानमा पहिले फर्मुला वानका खेलहरु हुन्थे । भारतको अहमादाबादमा नरेन्द्र मोदी रंगशाला बनाउने निर्माण कम्पनीले नै न्यु योर्कको क्रिकेट रंगशाला निर्माण गरेको समाचारमा जनाइएको छ। यसका अतिरिक्त लन्डनस्थित टोट्टनहाम हट्सपर फुटबल रंगशाला पनि यही कम्पनीले निर्माण गरेको हो ।
आगामी जुन १ देखि २९ तारिखसम्म आयोजना हुने टी–२० विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै छ । प्रतियोगितामा २० राष्ट्रको सहभागिता रहने छ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स पनि रहेको छन् ।
नेपालले आफ्नो पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्नेछ । उक्त खेल अमेरिकाको टेक्सासस्थित डालास रंगशालामा खेलिने छ । नेपालले दोस्रो खेल जुन ११ तारिखमा श्रीलंकासँग खेल्नेछ । उक्त खेल अमेरिकाको फ्लोरिडामा खेलाइने छ ।
यसैगरी नेपालले तेस्रो खेल जुन १४ तारिखमा दक्षिण अफ्रिकासँग खेल्नेछ । उक्त खेल सेन्ट भिसेन्टमा खेलिने छ । चौथो खेल भने नेपालले जुन १६ मा बंगलादेशसँग खेल्नेछ । उक्त खेल पनि सेन्ट भिसेन्टमै खेलिने भएको छ ।