नयाँ दिल्ली ।
सिंबा, सूर्यवंशी, सिंघम, चेन्नई एक्सप्रेस जस्ता चर्चित फिल्म बनाइसकेका निर्देशक रोहित शेट्टीले आफ्नो आगामी फिल्मको पुष्टि गरेका छन् । रोहितका अनुसार गोलमाल ५ अवश्य बन्नेछ । तर यसका लागि लामो प्रतीक्षा गर्नुपर्नेछ । पिंकविलासँग कुराकानीका क्रममा रोहितले भने, ‘गोलमाल ५ अवश्य बन्नेछ ।
प्रतिक्रियालाई हेर्दा मैले यसलाई अलि चाँडै बनाउनु पर्नेछ। मलाई लाग्छ कि आगामी २ वर्षभित्र गोलमाल ५ हेर्न पाइनेछ ।’ पछिल्लो समय फिल्ममा आएको परिवर्तनलाई हेर्दा गोलमाल फ्रेन्चाइजीको नयाँ फिल्म बाँकी फिल्मभन्दा निकै शानदार हुने बताइएको छ ।
आजको समयमा फिल्म आफूले उति बेला बनाएको अल द बेष्ट र गोलमालको तुलनामा भव्य र ठूलो हुनु पर्ने उनी बताउँछन् । गोलमाल कमेडी फिल्म हो । यसमा रोहितले एक्शन जोड्न सक्दैनन् । तर फिल्मको शैलीको स्तर बढाउन सकिने उनको भनाइ छ । गोलमालका फ्यानहरु धेरै भएको अनि उनीहरुकै लागि यो ब्रान्ड बनाइरहेको पनि उनले बताए ।
रोहितले अहिले कप–भर्स अर्थात् प्रहरीको संसारमा आधारित फिल्महरु पनि बनाइरहेका छन् । तर उनको इच्छा कप भर्समा आधारित नभएको फिल्म बनाउने पनि छ । काहानी फेला पर्यो भने चेन्नई एक्सप्रेस जस्तो फिल्म बनाउने उनको इच्छा छ । रोहितको कप भर्स वेब सिरिज इन्डियन पुलिस फोर्स जनवरी १९ मा ओटीटीमा रिलिज हुँदैछ । यसबाहेक रोहित अजय देवगनसँग सिंघम अगेन पनि सुट गरिरहेका छन् ।