काठमाडौं ।
सातै प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतपत्र पुगेको छ। निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ गरी निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्याएको हो ।
आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार शुक्रबारसम्म सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी गरिसकेको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि छुट्टाछुट्टै मतपत्र बनाइएको छ । प्रदेश सभा सदस्यका लागि सेतो कागजमा हरियो रङ्गको मसीले विवरण र निर्वाचन चिह्न रहेको मतपत्र छपाइ भएका छन् ।
आगामी फागुन २० गतेदेखि रिक्त हुने १९ राष्ट्रिय सभा सदस्य पदका लागि यही माघ ११ गते निर्वाचन हुँदैछ । मतदानका लागि ३८ प्रकारका कुल ६ हजार ९१० मतपात्र छपाइ भएको सहायक प्रवक्ता पन्थीले बताउनुभयो ।