काठमाडौं ।
पाँच सय वर्षको प्रतिक्षापछि राम जन्मभूमि अयोध्यामा राम मन्दिर निर्माण गरी भगवान श्रीरामको बालस्वरुप मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ । रामको जन्मभूमिमा मस्जिद निर्माणको पाँच सय वर्षपछि पुनः राममन्दिर निर्माण गरी उक्त मन्दिरमा भगवान श्रीराम विराजमान हुँदा भारत मात्र नभई विश्वभरका हिन्दु धर्माबलम्बीहरुले यो ऐतिहासिक दिनको खुलेर स्वागत गरेका छन् ।
हजारौं विदेशी पाहुना र लाखौं भक्तजनहरुको उपस्थितिमा भारतको उत्तर प्रदेशको अयोध्यामा निर्मित भव्य राममन्दिरमा भगवान श्रीरामको बालस्वरुप मूर्तिको प्राण प्रतिष्ठा गरियो । बाजागाजा अनि झाँकीसहित आयोजना गरिएको यो महोत्सवका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित १५ जनाको उपस्थितिमा पुजारीहरुले विधिपूर्वक गरेको प्राण प्रतिष्ठाको दृश्यलाई अभुतपुर्व रुपमा व्याख्या गरिएको छ ।
विश्वकै ध्यान केन्द्रित भएको यस महोत्सवको अवसरमा विश्वका थुप्रै राष्ट्रहरुमा समेत उत्सव मनाइएको छ । अमेरिकाको न्युयोर्कस्थित टाइम्स स्वाक्यरमा रामको मूर्ति सहित र्यालीको आयोजना गरियो भने मिनेसोटामा राम भजन गाउँदै हिन्दु धर्माबलम्बीहरुले खुशियाली मनाए । यस्तै, थाइल्याण्ड, इन्डोनेशिया, म्यानमार र मलेसियामा पनि रामलिला भव्य रुपमा मनाइयो ।नेपालमा पनि यो उत्सव भब्यताका साथ मनाइएको छ ।
माता जानकीको जन्मभूमि जनकपुर र आसपासका क्षेत्रलाई केही दिनदेखि सिंगारिएको थियो भने दैनिक पूजा आरतीसहित भब्य तयारी र व्यग्र प्रतिक्षा गरिएको थियो ।