देवदह । रुपन्देहीको देवदहमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले उद्घाटन गर्नुभयो । देवदह नगरपालिकाको आयोजना र देवदह माध्यमिक विद्यालयको व्यवस्थापनमा अन्तर विद्यालय स्तरीय प्रथम राष्ट्रपति कप रनिङ्ग शिल्ड छनोट प्रतियोगिता-२०८० शुरु भएको हो ।
उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै प्रतिनिधि सभा सदस्य विश्वकर्माले खेल कौशलको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढ्न सकिने बताउनुभयो ।सिमित श्रोत र साधनका बाबजुद नगरपालिकाले खेलकुदका गतिविधिलाई अगाडि बढाएको धन्यवाद दिदै उहाँले खेलाडीलाई खेलाडीको सम्भावनाको आधारमा निरन्तरता दिन आग्रह गर्नुभयो । ३ उद्घाटन समारोहमा गणपति दिपक कुमार थापा, देवदह नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा लगायतले बोल्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
उद्घाटन समारोह देवदह नगरपालिका नगर प्रमुख एवं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक ध्रुव प्रसाद खरेलको अध्यक्षता, उपप्रमुख विद्या लक्ष्मी गुरुङको स्वागत र शिक्षक इन्दिरा अर्यालको संचालनमा सम्पन्न भएको थियो ।
प्रतियोगितामा देवदह नगरपालिका भित्रका १५ सामुदायिक र १० संस्थागत गरी २५ वटा विद्यालयको १ हजार बढी विद्यार्थीको सहभागिता रहेको छ ।