काठमाण्डौ ।
संयुक्त राष्ट्रसङ्घको सोमबारको एक प्रतिवेदनअनुसार विश्वका करिब आधा आप्रवासी प्रजातिहरू घट्दै गएका छन् । धेरै सङ्गबर्ड, समुद्री कछुवा, ह्वेल, शार्क र अन्य प्रवासी जीवजन्तु परिवर्तित मौसमसँगै विभिन्न वातावरणमा सर्छन् र वासस्थानको हानि, अवैध सिकार र माछा मार्ने, प्रदूषण तथा जलवायु परिवर्तनले जोखिममा पर्छन।
संसारभरमा करिब ४४ प्रतिशत आप्रवासी प्रजातिहरूको सङ्ख्या घट्दै गएको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रसङ्घद्वारा अनुगमन गरिएको करिब एक हजार दुईसय प्रजातिमा २० प्रतिशत लोप हुने खतरामा छन् ।
“यी यस्ता प्रजाति हुन् जो संसारभर घुम्छन्, उनीहरू भोजन र प्रजननका लागि अगाडि बढ्छन् र उनीहरूलाई मार्गमा रोकिन स्थानहरूको पनि आवश्यकता हुन्छ”, उज्बेकिस्तानको समरकन्दमा संयुक्त राष्ट्रसङ्घ वन्यजन्तु सम्मेलनमा जारी प्रतिवेदनका प्रमुख लेखक केली माल्सले भनिन् ।
तिनीहरूको यात्राको कुनै पनि विन्दुमा वासस्थानको हानि वा अन्य खतराका कारण सङ्ख्यामा कमी आउन सक्छ । “केही प्रजातिका लागि बसाइसराइ आवश्यक छ, यदि तपाईँले आप्रवासनमा कटौती गर्नुभयो भने तपाईँले प्रजातिलाई मार्न गइरहनुभएको छ”, ड्युक विश्वविद्यालयका इकोलोजिस्ट स्टुअर्ट पिमले भने । उनी प्रतिवेदनमा सहभागी हुन् ।
कुनै प्रजाति लोपोन्मुख छ वा छैन भनेर ट्र्याक गर्ने इन्टरनेसनल युनियन फर कन्जरभेसन अफ नेचरको रेड लिस्टको जानकारीसहित अवस्थित डाटामा प्रतिवेदन निर्भर छ । राष्ट्रसङ्घीय बैठकका सहभागीहरूले संरक्षण उपायहरूका लागि मूल्याङ्कन गर्ने र धेरै नयाँ प्रजातिको चासोलाई औपचारिकरूपमा सूचीबद्ध गर्ने योजना बनाएका छन् ।
सन् २०२२ मा सरकारहरूले क्यानाडाको मन्ट्रियलमा संयुक्त राष्ट्रसङ्घीय जैविक विविधता सम्मेलनमा संरक्षणका लागि पृथ्वीको ३० प्रतिशत भूमि र जलस्रोतको रक्षा गर्ने वाचा गरेका छन् ।
एजेन्सी ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??