रुपन्देही ।
नेकपा (एमाले) निकट महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) ले बुटवलमा महिलाहरुलाई स्वास्थ्यसम्बन्धी सचेतनामूलक प्रशिक्षण दिएको छ ।अनेमसंघ क्षेत्रीय समिति, क्षेत्र नम्बर २ रुपन्देहीले विशेषज्ञ चिकित्सक बोलाएर आफ्ना महिलाहरुका लागि स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिएको हो । प्रशिक्षण कार्यक्रमको संयोजन एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग रुपन्देहीले गरेको थियो ।
प्रशिक्षण अघि सहभागीहरुको निःशुल्क मधुमेह र कोलस्टेरोल परीक्षण गरिएको थियो । जसमा एशियन डाइग्नोष्टिक ल्याव्रोटोरी बुटवलले प्राविधिक सहयोग गरेको थियो । महिलाहरुलाई प्रशिक्षण दिंदै देवदह मेडिकल कलेज तथा इन्द्रेणी हेल्थ क्लिनिकमा कार्यरत नसा, टाउको तथा मनोरोग विशेषज्ञ डा.राजेश श्रेष्ठले मानिसको बदलिंदो जीवनशैली, यसले पार्ने शारीरिक र मानसिक समस्या, खानपान लगायतका विविध विषयमा जानकारी दिनुभएको थियो ।
डा. श्रेष्ठले तनाव व्यवस्थापनका उपाय, शारीरिक र मानसिक रुपमा स्वस्थ रहनका लागि गरिनुपर्ने दैनिक क्रियाकलाप लगायतका विषयमा पनि प्रकाश पार्नुभएको थियो । स्वास्थ्य सम्बन्धि पशिक्षण तथा स्वास्थ्य परिक्षण कार्यक्रम अनेमसंघ क्षेत्रीय समिति अध्यक्ष बसन्ती भुसालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा .(एमाले) जिल्ला कमिटी उपसचिव तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख चित्रबहादुर कार्की, नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा रुपन्देही २ का क्षेत्रीय कमिटी संयोजक बाबुराम पन्थी, अनेमसंघका विभिन्न कमिटीका पदाधिकारी तथा सदस्यहरु सहितको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा अनेमसंघ क्षेत्रीय कमिटी उपाध्यक्ष मनादेवी ढकालले स्वागत र सचिव कमला ज्ञवालीले सञ्चालन गर्नुभएको थियो ।