एजेन्सी ।
अस्पतालमा उपचारका लागि भर्ना भएका एक बिरामीले एम्बुलेन्स चोरी गरी फरार भएको घटना प्रकाशमा आएको छ । उक्त घटना अमेरिकाको भर्जिनियास्थित एक अस्पतालमा सोमबार भएको हो । इनोभा फेयरफ्याक्स अस्पतालमा उपचाररत बिरामीले सोही अस्पतालमा रहेको एउटा एम्बुलेन्स चोरेर भागेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
स्थानीय प्रहरीले एम्बुलेन्स चोरी गरेर भागेका बिरामीको तस्बिर सार्वजनिक गरेको छ, जुन तस्बिर उनी भाग्दै गरेको अवस्थामा लिइएको हो । एम्बुलेन्स चोरेर फरार भएका बिरामीको पहिचान ३२ वर्षीय रिकी लोवेका रुपमा गरिएको छ । प्रहरीका अनुसार उनी दुर्घटनामा परेर उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । आफैँले चलाएको गाडी दुर्घटनामा परेपछि उनी उपचाररत थिए । प्रहरीका अनुसार उनको गाडीबाट दुई वटा बन्दुक र केही लागु औषध बरामद भएको थियो ।
आफू कारबाहीमा पर्ने भएपछि उनी अस्पतालबाट भागेको हुन सक्ने आकलन गरिएको छ । प्रहरीका अनुसार उनले चोरेको एम्बुलेन्स भने फेला परेको छ । उनको खोजतलास जारी रहेको प्रहरीको भनाइ छ ।