काठमाण्डौ ।
भारतीय अर्थतन्त्रले विश्वमा सर्वाधिक तीव्र गतिमा बढिरहेको मुख्य अर्थतन्त्रको उपाधि जोगाएको छ । सन् २०२३ को अन्तिम तीन महिनामा त्यहाँको अर्थतन्त्र ८ दशमलव ४ प्रतिशतले बढेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले माइक्रो ब्लगिङ वेबसाइट एक्समा डिसेम्बर त्रैमासको आर्थिक तथ्याङ्कबारे एउटा पोस्ट गरेका थिए।
आगामी केही वर्षमा जर्मनी र जापानलाई उछिनेर भारत विश्वको तेस्रो ठुलो अर्थतन्त्र बन्ने क्रममा रहेको छ । कारखाना क्षेत्रको सुदृढ प्रदर्शनका कारण समीक्षा अवधिको आर्थिक वृद्धिदर अपेक्षाकृत बढी भएको हो । अक्टोबर–डिसेम्बर त्रैमासमा भारतको म्यानुफ्याक्चरिङ क्षेत्र ११ दशमलव ६ प्रतिशतले बढेको थियो ।
जीडीपीको दुई तिहाइ अनुपात ओगटेको निजी खपत पनि समीक्षा अवधिमा साढे ३ प्रतिशतले बढेको थियो । यो वर्ष भारतको अर्थतन्त्र साढे ६ प्रतिशतले बढ्ने अन्तर्राष्ट्रिय बहुपक्षीय कर्जादाता निकाय आईएमएफको अनुमान छ ।
एजेन्सी ।