काठमाण्डौ ।
चितवनको रत्ननगरमा रहेको एकता शिशु निकेतन विद्यालयमा कक्षा–८ मा अध्ययनरत सालिन पोख्रेलको मृत्यु घटनाको छानविन गर्न बुवा दिपेन्द्र पोख्रेलले माग गर्नुभएको छ । गोरखा जिल्ला अजिरकोट गाउँपालिका–५ मुच्चोकका दीपेन्द्र पोखरेलले आफ्नी १४ वर्षीय छोरी शालिनको आत्महत्या भनिएको घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गर्नुभएको हो ।
चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा–८ मा अध्ययनरत शालिन १२ फागुनमा सोही स्कुलको होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् ।
मृतक शालिनका बुवा दीपेन्द्र पोखरेलले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बलात्कारपछि हत्या भएको दाबी गर्नुभयो । ‘लास झुण्डिएको अवस्था, त्यहाँको वातावरण र वस्तुस्थिति हेर्दा मेरी छोरीले झुण्डिएर आत्महत्या गरेको भन्ने कुरा अस्वाभाविक र अपत्यारिलो देखिन्थ्यो’, उहाले भन्नुभयो ।
पोखरेलले घटनापछि विद्यालयमा गएर सर्वपक्षीय छलफलपछि मात्रै मुचुल्का गर्न आग्रह गर्दा प्रहरीले विद्यालय परिसरभित्रै भाइ हरि पोखरेललाई निर्घात कुटपिट गरेकोसमेत दाबी गर्नुभएको छ ।