रुपन्देही । रुपन्देहीको भैरहवामा आइतबारदेखि सुरु सुपर लिगमा देवदह क्रिकेट युनिटले विजयी सुरुवात गरेको छ ।रुपन्देही क्रिकेट संघको आयोजनामा दुई दशक अघिदेखि वर्षेनि हुँदै आएको सुपर लिग अन्तर्गत सिद्धार्थ रंगशालामा भएको उद्घाटन खेलमा देवदह क्रिकेट क्लबले बुटवल राइनोजलाई २ विकेटले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ गरेको बुटवल राइनोजले ४० ओभरको खेलमा २० ओभर ५ बलमा सबै विकेट गुमाउँदै ९५ रनको सामान्य योगफल खडा गर्यो। टिमका लागि सुमन सुनारले २९, सलउद्दिन खानले १६ र शिव कुंवरले अविजित १५ रन जोडे । अन्य ब्याटसम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
बुटवल राइनोजलाई सस्तैमा रोक्न बलिङमा देबदहका सुरज खड्काले ६ दशमलब ५ बलमा २ मेर्डन राख्दै १७ रन खर्चेर ५ विकेट लिए । यस्तै, अर्जुन रायमाझीले ३ तथा शिव ज्ञवालीले २ विकेट लिए । जवाफी ब्याटिङ गरेको देवदहले ३३ ओभरमा ८ विकेट गुमाउँदै १ सय १ रन बनाउदै जित निकाल्यो । जसमा सुमन पाण्डे र संकेत भट्टराईले २७-२७ रन र कृष्ण पासीले नटआउट १२ रन जोडेका थिए। खेलको म्यान अफ दि म्याच सुरज खड्का घोषित भएका थिए ।