काठमाडौँ ।
हङकङमा आज बुधबार सम्पन्न शृङ्खलाको फाइनल खेलमा नेपालले लज्जास्पद हार ब्यहोरेको छ। आजको हारसङ्गै नेपाली टोली त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि चुम्नबाट चुकेको हो ।
नेपाली टोलीलाई फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) ले ८६ रनको फराकिलो अन्तरले हराएको हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ७१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.३ ओभरमै अलआउट हुनुअघि ८५ रनमात्र बनाउन सक्यो ।
त्रिकोणात्मक शृंखलामा हङकङ तेस्रो भयो । बुधबार विहान खेलिएको खेलमा हङकङले आफ्नै ‘ए’ टोलीलाई हराउँदै तेस्रो स्थान हासिल गरेको हो । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृङ्खला खेलिएको हो ।