कञ्चन ।
रुपन्देहीको कञ्चन गाउँपालिकामा ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कञ्चनका महिलाहरुको पाठेघरको VIA परिक्षण गरिएको छ। कार्यक्रमको आज अन्तिम दिन १०४ जना महिलाले आफ्नो पाठेघरको मुखको सम्भावित क्यान्सर (VIA) परिक्षण गराएका थिए।
आज परिक्षण गराएका महिलाहरु मध्ये १३ जनामा पोजेटिभ देखा परेको कञ्चन गाउँपालिकाका स्वास्थ्य प्रमुख रामप्रसाद गौतमले जानकारी दिनु भएको छ। यसभन्दा अघि फागनु २४ गते गजेडी स्वास्थ्य चौकीमा कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो।
उपाध्यक्ष थापा मगरले कार्यक्रमको समापन गर्दै श्रमिक महिलाहरुले आफ्नो स्वास्थ्य परिक्षण गर्न जान आर्थिक र समयका हिसावले पनि बुटवल तथा भैरहवा जान नसक्ने र उनिहरुको स्वास्थ्य अवस्था नजानिदो तरिकाले खराव हुने र अकालमै मृत्युवरण गर्नु पर्ने बाध्यताको केही हदसम्म न्युनिकरण गर्न नजिकको स्वास्थ्य केन्द्रहरुमा पाठेघर परिक्षण सम्बन्धी शिविरको आयोजना गरिएको बताउनु भयो। श्रम गरेर जिवन गुजारा गर्ने महिलाहरुले आफ्नो स्वास्थ्यलाई भन्दा परिवार पाल्ने चिन्ताका लागि दिनरात नभनि नियमित कार्य गर्दै गर्दा उनिहरुको पाठेघरमा हुने समस्याबारे जानकारी नहुँदा रोगले जिवनको अन्तिम समयमा पुर्याएपछि थाहा पाउने भएकोले धेरै महिलाहरुको पाठेघरको क्यान्सरकाकारण मृत्यु हुने तथ्यांक उच्च भएको उल्लेख गर्दै उपाध्यक्ष थापा मगरले तिनै श्रमिक महिलाहरुको स्वास्थ्य परिक्षणका लागि निःशुल्क शिविरको आयोजनालाई आगामी दिनहरुमा समेत निरन्तरता दिइने बताउनु भयो।
यसैगरी वडा नं. ४ का वडा अध्यक्ष तथा रुद्रपुर स्वास्थ्य चौकी व्यबस्थापन समितिका अध्यक्ष केशर बहादुर खत्रीले शारीरिक तथा मानसिक रुपमा श्रम गर्ने महिलाहरुले श्रमिक पुरुषसरह ज्यालाको अधिकार पाएको दिनलाई बिश्वभरका श्रमिक महिलाहरुले ८ मार्चलाई उत्सवको दिनको रुपमा मनाउने गरेको उल्लेख गर्नु भयो। श्रम गर्ने महिलाहरुको नजिकको स्वास्थ्य केन्द्रमा निःशुल्क पाठेघरको मुखको परिक्षण गरी सम्भावित क्यान्सर रोगबाट सुरक्षित गर्न शिविरको आयोजना गरिएको यस शिविरबाट अधिक्तम श्रमिक तथा सामान्य महिलाहरुले आफ्नो पाठेघरको मुखको परिक्षण गराउने अवसरको सदुपयोग गरेको बिश्वास ब्यक्त गर्नु भयो।
कार्यक्रममा कञ्चन गाउँपालिकाका कार्यपालिका सदस्य सुशिला थापाले कञ्चनका हरेक महिलाहरुको ब्यक्तित्व, नेतृत्व बिकाससंगसंगै उनिहरुको स्वास्थ्य सेवाको पहुँच पुर्याउनु पर्ने पालिकाको मुख्य जिम्मेवारी भएको उल्लेख गर्नु भयो। पालिकाबाट महिलाहरुलाई हरेक पक्षमा सवल र अव्वल बनाउन के कस्ता योजनाहरुको निर्माण गर्नु पर्ने हो ती योजनाहरुबारे आवस्यक सुझाव दिन कार्यपालिका सदस्य थापाले आग्रह गर्नु भयो।
नेपाल परिवार नियोजन संघ बुटवलका सिनियर नर्सिङ्ग अधिकृत सुस्मा श्रेष्ठले महिलाहरुको पाठ्घरको भि आई ए परिक्षण गर्नु भएको थियो । उपाध्यक्ष मौसमी थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा कञ्चन गाउँपालिकाका सहायक महिला बिकास निरीक्षक राधा भट्टराइले सहजिकरण गर्नुभएको थियो।