बुटवल ।
रुपन्देहीको देवदहमा ६२ जनाले रक्तदान गरेका छन् । शुक्रबार निर्माण बहुउद्धेश्यीय सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ जना रक्तदाताले रक्तदान गरेका हुन् । जसमा १९ जनाले पहिलो पटक रक्तदान गरेको र समग्रमा ६२ युनिट रगत संकलन भएको सहकारीका व्यवस्थापक सुशिला भण्डारीले जानकारी दिएकी छन् ।
रक्तदानअघि आयोजित औपचारिक कार्यक्रममा बोल्दै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय महासचिव कृष्ण चौहानले रूपन्देहीमा सहकारी लगायत वित्तिय र सामाजिक संघसंस्थाले रक्तदान कार्यक्रम आयोजना गरि मानविय कार्यमा समर्पित भएको बताए । रक्तदान नै सर्वोच्च सामाजिक र मानविय कार्य रहेको उल्लेख गर्दै महासचिव चौहानले रक्तदान संस्कृति विकास हुँदै जादा रूपन्देही रक्तदानको केन्द्रको रूपमा स्थापित भएको बताए ।
कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष मोतिलाल ढकाले ६७ औं सहकारी दिवसको अवसरमा आफूहरूले रक्तदानसंगै सहकारीको दिगोपना, स्वनियमन र सुशासनको लागि सृजनशील कार्यक्रमहरू आयोजना गरेको बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखा अध्यक्ष कृष्ण न्यौपाने, सहकारी संजाल देवदहका अध्यक्ष जागेश्वरी पंगेनी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अतिथि तथा रक्तदान गर्ने रक्तदातालाई प्रशंसापत्रसंगै करेला, घिरौला, फर्सी लगायतका विरुवा प्रदान गरिएको थियो । महँगो र उपयोगहिन खादामाला र मायाको चिनोको सट्टामा सहकारीले आफै उत्पादन गरेका विरूवा अतिथि र रक्तदातालाई उपहार स्वरूप प्रदान गरिएको सहकारीले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??