काठमाडौं ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा भएका छन् । विभिन्न रोगबाट ग्रस्त महरालाई स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छाडिएको सरकारी वकिलको कार्यालयको भनाइ छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको सहमतिमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हाजिर जमानिमा महरालाई छाड्ने निर्णय गरेको जनाईएको छ । सुन तस्करीबारे अनुसन्धान गर्न गठीत आयोगले महरालाई दोषी देखाएपछि प्रहरीले चैत ५ गते उनलाई कपिलवस्तुबाट पक्राउ गरेको थियो ।
काठमाडौं ल्याइएपछि नर्भिक अस्पतालमा बस्दै आएका महराको सीआईबीमा दुई दिन लगातार बयान लिइएको थियो । २०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङले इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुनबारे महरासंग बयान लिदा उनले चिनियाँ सुन तस्कर वाङसँग चिनजान रहेको स्वीकार्दै कारोबार भने नगरेको दाबी गरेका थिए ।