एजेन्सी ।
भारतीय जनता पार्टी (भाजपा) ले २०२४ को लोकसभा चुनावका लागि घोषणापत्र जारी गरेको छ। पार्टीले घोषणापत्रको नाम ‘मोदीको ग्यारेन्टी सङ्कल्प पत्र’ राखेको छ । भाजपाले प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जेपी नड्डा, केन्द्रीय गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंहको उपस्थितिमा घोषणापत्र जारी गरेको हो।
घोषणापत्र जारी गर्दै रक्षामन्त्री तथा भाजपाका वरिष्ठ नेता राजनाथ सिंहले भने, ‘हामी जे भन्छौँ, त्यही गर्छौँ । जम्मु कश्मीरबाट धारा ३७० खारेज गर्ने वाचा थियो, त्यो पूरा भयो। हामीले महिलालाई आरक्षण दिने वाचा गरेका थियौँ, त्यो पूरा गरेका छौँ।’ भाजपाको नयाँ सङ्कल्प पत्रलाई २४ खण्डमा विभाजन गरिएको छ। यसमा सुशासन, देशको सुरक्षा, स्वच्छ भारत, खेलकुदको विकास, वातावरण सम्बन्धी मुद्दाहरू समावेश छन्। रक्षामन्त्रीले मोदीको ग्यारेन्टी २४ क्यारेट सुन जत्तिकै राम्रो भएको दाबी गरे।