एजेन्सी ।
सिख र हिन्दु देवी देवता र पूजास्थलको नाममा भोट मागेको आरोपमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई कारबाही गर्न माग गर्दै दिल्ली उच्च अदालतमा याचिका दायर गरिएको छ । यो याचिका वकिल आनन्द एस जोन्धलेले दायर गरेका हुन् । याचिकामा जनप्रतिनिधित्व ऐन अन्तर्गत प्रधानमन्त्री मोदीलाई ६ वर्षका लागि निर्वाचनमा अयोग्य ठहराउन निर्वाचन आयोगलाई निर्देशन दिन माग गरिएको छ । साथै धार्मिक देवता र पूजास्थलको नाममा भोट माग्न बन्द गर्न पनि निर्देशन दिन भनिएको छ ।
याचिकामा उत्तर प्रदेशको पिलिभीतमा अप्रिल ९ मा मोदीले दिएको भाषणलाई उद्धृत गरिएको छ । सम्बोधनका क्रममा मोदीले हिन्दु देवता र पूजास्थलका साथै सिख देवता र सिख पूजास्थलको नाममा भाजपालाई भोट दिन मतदातालाई अपिल गरेको जोन्धले बताए । राम मन्दिर आफूले बनाएको भाषणका क्रममा मोदीले भनेको आरोप उनले लगाएका छन् ।
भाषणका क्रममा उनले करतारपुर साहिब कोरिडोरको विकास गरेको अनि गुरुद्वाराहरूमा खुवाइने लङ्गरमा प्रयोग हुने सामग्रीमाथिको जीएसटी हटाएको बताएको भनिएको छ । अफगानिस्तानबाट गुरु ग्रन्थ साहिबका प्रति फिर्ता पनि उनले नै ल्याएका थिए । प्रधानमन्त्रीले भाषणमा हिन्दु र सिख देवता र तिनका धर्मस्थलको नाममा भोट माग्नुको साथै विपक्षी राजनीतिक दललाई मुस्लिम पक्षधर भएको टिप्पणी पनि गरेको जोधको तर्क छ ।