काठमाण्डौ ।
सरकारले प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सार्वजनिक गरेको विवरणअनुसार मन्त्रिपरिषदमा रहेका सबै सदस्यमध्ये उपप्रधान एवम् भौतिक पूर्वाधार विकासमन्त्री रघुवीर महासेठ सबैभन्दा धनी मन्त्री बन्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खातामा एभरेस्ट बैंक सिंहदरबारमा प्रतिनिधि सभाको सदस्यको हैसियतमा प्राप्त २५ लाख रुपैयाँ रहेको उल्लेख छ ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४ मा स्वर्गीय श्रीमती सीता दाहालको नाममा पैतृक सम्पत्तिबाट प्राप्त १४ कठ्ठा र भरतपुरकै वडा नम्बर १२ मा अशंबाट प्राप्त एक कठ्ठा जमिन रहेको उल्लेख छ । पैतृक स्रोतबाट प्राप्त पाँच तोला सुन रहेको विवरणमा उल्लेख छ ।
यस्तै मन्त्रिपरिषदमा रहेका मन्त्रीमध्ये सबैभन्दा धनी मन्त्री उपप्रधान एवम् भौतिक पूर्वाधार विकासमन्त्री रघुवीर महासेठको विभिन्न ११ वटा बैंक खातामा दुई करोड २५ लाख रुपैयाँ रहेको उल्लेख छ ।
यो पैसा काठमाण्डौ ललितपुरको साविक सैँबु, ललितपुर महानगरपालिकाको कित्ता नम्बर २२६, २३१, २४४, ३९२, ३९३, ३९४ लगायतका जग्गाहरूको बिक्री र पैतृक सम्पत्तिबाट आर्जन भएको उल्लेख गरिएको छ । पैतृक तथा उपहारबाट प्राप्त ४३ तोला सुन र साढे एक किलो चाँदी रहेको छ । यसका साथै उहाँसँग जवाहरात सात थान औँठी, तीन थान सिक्री, तीन जोडा कानमा लगाउने र दुई जोडा चुरा रहेको छ । यी जवाहरात पैतृक सम्पत्ति, खरिद र उपहारबाट प्राप्त भएको खुलाइएको छ ।
पत्नी जुलीकुमारी महतोको नाममा गुडविल फाइनान्समा पाँच लाख शेयर, महिला लघुवित्त संस्थामा एक करोड रुपैयाँको शेयर, कर्पोरेट बैंक वीरगञ्जको दुई करोड ५० लाख रुपैयाँको शेयर रहेको छ । यी सम्पत्ति ऋण, सापटी, पैत्तृक र कृषिबाट प्राप्त भएको उल्लेख छ । महासेठले आफूसँग कुनै गाडी नरहेको र सगोलमा केही पैतृक सम्पत्ति रहेको उल्लेख छ ।
यस्तै अर्का गरिब मन्त्रीमा उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ रहेका छन । उनले आफ्नो बैंक खातामा एक लाख २२ हजार नाै सय १८ रुपैयाँ ६४ पैसा रहेको उल्लेख छ ।
आज सार्वजनिक उहाँको सम्पत्ति विवरणमा पैतृक सम्पत्ति पार्टीलाई हस्तान्तरण गरेको घोषणासमेत गरेकाे उल्ले छ । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ८ मा उहाँको नाममा तीन कित्ता जग्गा छ । एउटा कित्ता ३१ रोपनी १५ आना, अर्को कित्ता एक रोपनी १० आना र अर्को कित्ता पाँच रोपनी सात आना पैतृक सम्पती छ । २०५८ सालमै जग्गा पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेको र अहिले प्रक्रियामा रहेको उल्लेख छ । उहाँसँग कुनै पनि कम्पनीको शेयर वा धितोपत्र नभएको सम्पत्ति विवरणमा खुलाइएको छ । बा १० च ५७९८ नम्बरको जीप प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले प्रयोगका लागि उपलब्ध गराएको श्रेष्ठले सम्पत्ति विवरणमा उल्लेख भएको छ ।