काठमाण्डौ ।
ब्राजिलले लामो समयदेखि लागु औषध नियन्त्रणका लागि कडा कानुनको समर्थन गर्दै आएको थियो । तर अहिले ब्राजिल गाजा ब्राजिल गाँजाको प्रयोगबारे लचिलो बनेको छ । ब्राजिलले घरमै सीमित मात्रामा गाँजा राख्न दिने र व्यक्तिगत प्रयोजनमा प्रयोगलाई ‘अपराधमुक्त’ घोषित गरेको छ । गाँजा सेवनलाई कानुनी मान्यता दिने ब्राजिल अहिलेसम्मकै सबैभन्दा ठुलो देश बनेको छ ।
लामो समयदेखिको छलफलपछि गाँजाको प्रयोगलाई कानुनी मान्यता दिने निर्णय गरिएको हो । ब्राजिलले बुधबार व्यक्तिगत प्रयोजनमा गाँजाको प्रयोगलाई कानुन बनाएको छ । ब्राजिलको सर्वोच्च अदालतले ब्राजिलियनहरूले ४० ग्रामसम्म गाँजा राख्न सक्ने निर्णय गरेको छ । यति गाँजा ८० ज्वान्टका लागि पर्याप्त हुन्छ । घरमा तोकिएको मात्रामा गाँजा राख्दा कुनै जरिवाना वा सजाय हुनेछैन ।
यो निर्णय केही दिनमा लागू हुनेछ । यसलाई अर्को १८ महिनासम्म लागू गरिनेछ । तर सार्वजनिक स्थलमा गाँजाको प्रयोग भने प्रतिबन्धित नै छ । यसो गरेको पाइएमा प्रहरीले समात्नेछ । विश्वभर २० भन्दा बढी देशहरूले गाँजाको प्रयोगलाई कानुनी मान्यता दिएका छन् । त्यस्ता अधिकांश क्षेत्र/देशहरू युरोप र अमेरिकामा छन् । क्यानडा, स्पेन, जर्मनी जस्ता देशहरूले शर्तसहित गाँजाको प्रयोगलाई वैधानिक बनाएका छन् ।
-एजेन्सीको सहयोगमा