काठमाण्डौ ।
विश्वमा अहिले गर्भ र प्रसवसम्बन्धी समस्याका कारण दैनिक झन्डै आठ सय जना महिलाले ज्यान गुमाउने गरेको पाइएको छ । हरेक वर्ष जुलाई ११ मा मनाइने विश्व जनसङ्ख्या दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दिनुभएको सन्देशमा यस्तो तथ्याङ्क समावेश गर्नुभएको हो।
महासचिव गुटेरेसले २१ औँ शताब्दीमा पनि हरेक दिन झन्डै ८ सय जना महिलाले गर्भावस्था तथा प्रसवको समयमा अनावश्यक ज्यान गुमाउनु अपमानजनक अवस्था रहेको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । उहाँले यसरी ज्यान गुमाउनेको सङ्ख्या विकासोन्मुख देशहरूमा अझै धेरै रहेको पनि बताउनुभयो ।
दैनिक आठ सय जनाको ज्यान गइरहेको यो तथ्याङ्क सन् २००० को भन्दा ३४ प्रतिशत कम हो । आधुनिक गर्भनिरोधकमा पहुँच भएकाले मातृ मृत्युदर घटेको भए पनि गर्भावस्था र प्रसवसम्बन्धी समस्यामा महिलाहरूले ज्यान गुमाउनुपर्ने अहिलेको अवस्था प्रविधि र ज्ञानको विकासअनुसार उपयुक्त नभएको राष्ट्रसङ्घले जनाएको छ । -एजेन्सी