काठमाण्डौ ।
चुनावी र्यालीमा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमण भएपछि सुरक्षा व्यवस्थामा रहेको कमी कमजोरी उजागर भएको छ । केहीले सेक्रेट सर्भिस एजेन्सीमाथि प्रश्न गर्न थालेका छन् । ट्रम्प आफैँले भने सिक्रेट सर्भिस र कानून कार्यान्वयन गराउने अन्य एजेन्सीहरूलाई गोली प्रहारी भएलगत्तै देखाएको प्रतिक्रियाका लागि धन्यवाद दिएका थिए ।
तर यसले प्रश्नहरू मत्थर गराएको छैन । केहीले यसलाई सेक्रेट सर्भिसको पूर्ण असफलता भनेका छन् । अमेरिकाको तल्लो सदन प्रतिनिधि सभाका सभामुख माइक जोन्सनले यसबारे प्रतिनिधि सभाले पूर्ण अनुसन्धान गर्ने बताएका छन् । माइक्रो ब्लगिङ वेबसाइट एक्समा गरिएको एक पोस्टमा उनले अमेरिकी नागरिकहरूले सत्य थाहा पाउनै पर्ने भनेका छन् ।
सकेसम्म छिटै प्रतिनिधि सभाका समितिहरूसामु यस घटनाबारे सोधपुछका लागि सेक्रेट सर्भिसका निर्देशक किम्बर्ली चिटलबमे साथसाथै डीएसएस र एफबीआई समेत एजेन्सीका उपर्युक्त अधिकारीहरूलाई बोलाइने उनले बताएका छन् । आक्रमणबारे प्रतिनिधि सभाको अनुगमन समितिलाई ब्रिफिङ गर्न सेक्रेट सर्भिसले पनि सहमति जनाएको छ ।
यस घटनाको मामिलामा ट्रम्पलाई उपलब्ध गराइँदै आएको सुरक्षाका केही पक्षबारे छानबिन हुने सेक्रेट सर्भिसको सेवानिवृत्त सुपरभाइजर बबी म्याक्डोनल्डले रोयटर्सलाई भनेका छन् । यो घटना कसरी भयो अनि भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन सुरक्षा व्यवस्थालाई कसरी अझ राम्रो कसरी बनाउन सकिन्छ भनेर पनि हेरिने म्याक्डोनल्डले बताएका छन् ।
-एजेन्सी