काठमाडौं ।
नेपालले घरेलु मैदानमा आयोजना हुने काभा वुमन्स नेसन्स भलिबल लिगको उद्घाटन खेलमा श्रीलंकाविरुद्ध चुनौती प्रश्तुत गर्ने भएको छ ।
नेपाल भलिबल संघले शुक्रवार पत्रकार सम्मेलन आयोजनामार्फत प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ । साथै खेलतालिका पनि सार्वजनिक गरेको छ । शुक्रबार नै काभा वुमन्स नेसन्स लिगको ट्रफी सार्वजनिक भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले ट्रफी सार्वजनिक गर्नुभएको हो ।
आगामी साउन १७ गतेदेखि शुरु हुने काभा वुमन्स नेसन्स लिगमा नेपालसहित पाँच राष्ट्र श्रीलंका, इरान, भारत र माल्दिभ्सले प्रतिस्पर्धा गर्दैछन् । नेपालले यो प्रतियोगिताका लागि रसियासँग घरेलु मैदानमा नै दुई मैत्रीपूर्ण खेल पनि खेलेको थियो ।
यद्यपि, नेपालले कुनै सेट पनि जित्न सकेन । पत्रकार सम्मेलनमा संघले प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी दिएको छ ।