देवदह । नमुना हरियाली क्रिकेट कप २०८१ को उपाधि पालीनन्दन वारियर्सले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा रोमाञ्चक जित हासिल गर्दै वारियर्सले नमुना हरियाली क्रिकेट कप २०८१ को उपाधि जित्न सफल भएको हो ।
फाइनल खेलमा पालीनन्दन वारियर्स र नमुना हरियाली बीच कडा प्रतिस्पर्धा भयो । टस जितेर बलिङ रोजेको पालीनन्दनले सुरुमा उत्कृष्ट बलिङ प्रदर्शन गरे पनि नमुना हरियालीका खेलाडी विष्णुले ५३ रन र विकासले ४६ रनको उत्कृष्ट पारी खेले। अन्य खेलाडीको योगदान सहित नमुना हरियाली ‘बी’ले २० ओभरमा १७० रनको चुनौती प्रस्तुत गर्यो ।
१७० रनको लक्ष्य पछ्याउँदै पालीनन्दन वारियर्सले पनि उत्कृष्ट प्रदर्शन गर्यो । टिमका लागि रविषले ५४ रन र अनिसले ३८ रन बनाएर टिमलाई जितको नजिक पुर्याए। खेलको अन्तिम ओभरमा रोमाञ्चक क्षणहरू सिर्जना भए, जहाँ रविषले निर्णायक छक्का प्रहार गर्दै पालीनन्दनलाई तीन विकेटले जित दिलाए । उक्त खेलमा ५४ रन बनाउँदै निर्णायक पारी खेलेका रविष म्यान अफ द म्याच घोषित भएका थिए ।
प्रतियोगितामा १३८ रन र ६ विकेटको उत्कृष्ट प्रदर्शन सहित विष्णु पाण्डे म्यान अफ द सिरिज र बेस्ट ब्याट्सम्यान घोषित भए । त्यस्तै विकास बेलवासेले १० विकेट लिएर प्रतियोगिताको बेस्ट बलरको उपाधि जिते ।
विजेता टोली पालीनन्दन वारियर्सलाई नगद रु ५०,०००, सिल मेडल र ट्रफी प्रदान गरियो। उपविजेता नमुना हरियाली (बी) नगद रु २५,०००, सिल मेडल र ट्रफी प्रदान गरिएको अध्यक्ष पारस न्यौपानेले बताए। प्रतियोगितामा विजयी टोलीलाई बुद्ध सामुदायिक वनका अध्यक्ष टेकबहादुर रानाका पुरस्कार प्रदान गर्दै रोमाञ्चक प्रतियोगिताले स्थानीय खेलकुदको विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ।