देवदह // देवदह नगरपालिका नगर सभाको १५ औं हिउदे अधिवेशन सम्पन्न भएको छ । आईतवार भएको नगर अधिवेशनले नगर प्रहरी ऐन २०७६ को तेश्रो संशोधन –२०८१ पारित गरेको छ ।
उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले प्रस्तुत गर्नु भएको नगर प्रहरी ऐन २०७६ तेश्रो संशोधन पारित गरिएको हो । यसैगरी अधिवेशनले नगरपालिकाको नीतिगत निर्णय समेत पास गरेको छ । आर्थिक बर्ष २०८१÷०८२ को नगर कार्यपालिकाको बैठक नगर प्रमुख तथा उपप्रमुख संयोजकत्वमा भएका सम्पूर्ण बैठकका निर्णयहरु तथा अन्य विभिन्न समिति र विषयगत शाखाबाट पारित भई सोही बमोजिम कार्यान्वयन भएका निर्णयहरु नगर सभाबाट अनुमोदन गरिएको छ । अधिवेशनले १४ औ नगर सभाबाट पारित गरिएका योजना तथा कार्यक्रम संशोधन गरिएको छ । नगर सभामा २०८१/०८२ को लागि नगर प्रमुख र उपप्रमुख सम्वोधित कार्यक्रम समेत अनुमोदन गरिएको छ ।
नगर सभाको १५ औं हिउदे अधिवेशनमा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नगर प्रमुख धु्रवप्रसाद खरेलले उत्पादन बृद्धि गर्नको लागि सिचाई सहित कृषकहरुलाई प्रविधि हस्तान्तरण गरिएको बताउनु भयो । वहाले देवदह नगर अस्पताल, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्रबाट ६५ हजार ९ सय २ लाई स्वास्थ्य सेवा प्रवाह गरेको जानकारी दिनु भयो । नगरपालिकाले १३६ जनालाई ३ सय ७८ यूनिट रगत निशुल्क उपलव्ध गराएको जानकारी दिनु भयो । स्वास्थ्य विमा मार्फत नागरिकलाई जोड्न सफल भएको बताउदै देवदहमा ६ हजार ५ सय ८६ घर परिवारका १९ हजार ७७८ जना स्वास्थ्य विमामा आवद्ध गराएको नगर प्रमुख खरेलले जानकारी दिनु भयो ।
नगर प्रमुख खरेलले १४ औं नगर सभाबाट आर्थिक बर्ष २०८१/०८२ को विनियोजित ४१६ वटा योजनाहरु मध्ये ३०८ वटा योजना उपभोक्ता मार्फत सम्झौता गरिएको र सो मध्ये ५१ वटा योजना सम्पन्न भएको जानकारी दिनु भयो । वहाले १४ औं नगर सभाले आन्त्रिक राजश्व २५ करोड ४६ लाख ८८ हजार उठाउने लक्ष्य लिएपनि अहिले सम्म २ करोड ५० लाख २५ हजार मात्र रारजश्व संकलन गर्न सकिएको जानकारी दिनु भयो । कार्यक्रम देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलको अध्यक्षता, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत र रमेश गिरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।