देवदह । मगरहरु सांस्कृतिक रुपमा धनी भएपनि राज्यको मुल प्रवाहमा नहुदा पछाडी परेको लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले बताउनु भएको छ । उहाले मगरहरु राज्यको मुल प्रवाहबाट बन्चित हुदा संविधानले दिएको अधिकार समेत प्राप्त गर्न नसकेको बताउनु भयो ।
नेपाल मगर संघ देवदह नगर समितिले माघे संक्रान्तिको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सारुले शिक्षालाई बढि महत्व दिनु पर्ने बताउनु भयो । उहाले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न मगरहरुको महत्वपूर्ण भूमिका रहेको बताउदै मगर समुदायमा रहेका संस्कृति संरक्षण गर्न तिनै तहको सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । उहाले माघी पर्वलाई खानपिनको रुपमा नभएर एक आपसमा सद्भाव कायम गरी संस्कृति संरक्षणको रुपमा मनाउन आग्रह गर्नु भयो ।
मन्त्री सारुले विभिन्न जाती समुदायको भाषा, संस्कार, संस्कृति संरक्षणमा लुम्विनी प्रदेश सरकारले सहयोग गर्नेप्रतिवद्धता व्यक्त गर्नु भयो । उहाले मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लैजान सवैले आ–आफनो ठाउबाट दवाव दिन आवश्यक रहेको औल्याउनु भयो । उहाले आफनो अधिकार खोज्दा अरुको अधिकार हनन् गर्न नहुने बताउदै सवै जातजाती वीच एक आपसमा सद्भाव कायम गर्न सकेमात्र समृद्धि प्राप्त गर्न सकिने बताउनु भयो । उहाले मगर समुदायमा रहेका विकृति, विसंगति अन्त्य गर्न आवश्यक रहेको बताउदै मगर समुदायको प्रमुख चाडपर्वलाई प्रदेश सरकारले चासोको रुपमा हेरेको बताउनु भयो ।
सोही अवसरमा बोल्दै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले सवै जातजातीको अधिकार सुनिश्चित गर्न नगरपालिका लागि रहेको दावी गर्नु भयो । उहाले सम्पूर्ण जातजातीको भाषा, संस्कार र संस्कृति संरक्षणमा नगरपालिकाले बजेटको व्यवस्था गरेर अगाडि बढेको बताउनु भयो । उपप्रमुख गुरुङ्गले सिमित श्रोत साधन भएका कारण नागरिकको अपेक्षा अनुसार काम गर्न नसकेको बताउदै देवदहलाई समृद्धि बनाउने अभियानमा नगरवासीको सहयोग रहेको बताउनु भयो । यसैगरी नेपाल मगर संघका सहअध्यक्ष दलबहादुर विरकट्टाले हरेक जातजातीको भाषा, संस्कार, संस्कृतिको संरक्षणमा स्थानीय तहले अपनत्व लिन आवश्यक रहेको बताउनु भयो । उहाले भौतिक पुर्वाधार संगै मानवीय विकास आवश्यक रहेको बताउदै देशलाई समृद्ध बनाउन सवैको दायित्व भएको बताउनु भयो ।
नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष मनबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रिय अनुशासन विभाग सदस्य जसबहादुर पुन, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष मिना श्रेष्ठ लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकार राजु गुरुङ्ग, रितु थापा तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । संघका उपाध्यक्ष किशनबहादुर थापाको स्वागत र सचिव मिलन मास्की रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।