रुपन्देही । रुपन्देहीको देवदहमा हुने नवौं देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको तयारी तिव्र पारिएको छ । देवदह व्यापार संघको आयोजनामा यहि माघ १० गतेदेखि माघ २२ गते सम्म महोत्सव हुन लागेको हो ।
नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्ने मेलामा १० करोडको कारोबार गर्ने र ६ लाख दर्शकले मेलाको अवलोकन गर्ने लक्ष्य राखिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
देवदह व्यापार संघले मेला लाग्ने स्थल देवदह मण्डपमा पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष तथा मेला आयोजक मूल समितिका संयोजक कोष बहादुर गुरुङले यस क्षेत्रको आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्याउने महोत्सवको लक्ष्य रहेको बताउनुभयो । उहाले महोत्सवमा ७० वर्ष भन्दा माथिका बृद्धहरुलाई र फरक क्षेमता भएकाहरुलाई नि:शुल्क प्रवेशको व्यवस्था गरेको बताउनुभयो । मेलामा विभिन्न किसिमका २५७ वटा स्टलमा रहने जसमा स्थानिय घरेलु उत्पादन ,अटाे माेबाईल्स हाेटल रेष्टुरेन्ट, कृषि, दुग्ध उत्पादन, सहकारी संस्था तथा महिला उद्यमीले उत्पादन गरेकाे हस्तकला, कृषि जन्य सामाग्री लगायतका स्टल रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
मेलामा प्राचीन मायादेवी ग्राम सहितको मोडल, पर्यटन, कृषि प्रबर्द्धन सम्बन्धि गोष्ठी, पन्चेबाजा प्रतियोगिता, आकर्षक सेल्फी जोन, डान्सिङ आइडल, सिङ्गिङ आइडल, मम्मी डान्स प्रतियोगिता, खेलकुद ,स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, विभिन्न जातजाति तथा आमासमूहहरूकाे झाकी तथा विद्यालय स्तरीय प्रतियोगिता रहने अध्यक्ष गुरुङले जानकारी दिनुभयो।
त्यस्तै देवदह मण्डपको पूर्वाधार विकासको लागि टिकट बिक्रीबाट प्राप्त रकमको ५ प्रतिशत छुट्याएर देवदह मण्डप विकास कोष स्थापना गर्ने र पूर्वाधार निर्माणका लागि देवदहमा क्रियाशिल व्यापारिक संस्थासङ्ग कोषलाई निरन्तरता दिन अनुरोध गर्ने अध्यक्ष गुरुङको भनाई थियो ।