बुटवल । नेशनल प्याब्सन रुपन्देहीले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत रूपन्देहीका नेशनल प्याब्सनसँग आबद्ध भएका विद्यालयका विद्यार्थीहरूबीच वक्तृत्वकला तथा गायन प्रतियोगिता एक समारोहका बीच शनिबार सम्पन्न गरेको छ । प्रतियोगिताका दुवै विधातर्फ देवदहको न्यू लुम्बिनी ई. बोर्डिङ स्कुल उपाधी हात पार्न सफल भएको छ ।
प्रतिस्पर्धामा गायनतर्फ न्यू लुम्बिनी इङ्गलिस बोर्डिङ स्कुलकी छात्रा जानकी पौडेल प्रथम, सुनगाभा पब्लिक सेकेन्डरी स्कुलका खिमबहादुर राना द्वितीय, नमुना एभरग्रिन इङ्गलिस बोर्डिङ स्कुलका नुराङ्ग सारू तृतीय र सेन्ट जोसेफ इङ्गलिस हाई स्कुलकी ईशा गुरूङ सान्त्वना भएका छन् । त्यस्तै गरी ‘शिक्षा र रोजगारका नाममा विदेशिनुको विकल्प, स्वदेशमै जनशक्ति व्यवस्थापनको गरौँ सङ्कल्प’ भन्ने विषयको शीर्षकमा माध्यमिक तहको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
उक्त प्रतियोगितामा न्यू लुम्बिनी इङ्गलिस बोर्डिङ्ग स्कुलकी छात्रा खुसी घर्ती मगर प्रथम, स्कलर्स होम इङ्गलिस बोर्डिङ स्कुलकी छात्रा शैलेसा शर्मा द्वितीय, देवदह इङ्गलिस बोर्डिङ हाई स्कुलका छात्र प्रशान्त देवकोटा तृतीय र बुटवल ग्लोरी इङ्गलिस बोर्डिङ स्कुलकी छात्रा अंशु अर्यालले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।
दुवै प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थी तथा विद्यालयलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कारबाट सम्मान गरिएको थियो । एउटै मञ्चबाट दुवै विधाका कार्यक्रम गरिएकोमा गायनतर्फ गायक तथा सङ्गीतकार सौगात सायर र पप गायक वसन्त श्रेष्ठले निर्णायकको भूमिका निभाएका थिए। यसै गरी वक्तृत्वकलातर्फ प्रा.डा. हिरण्यलाल ज्ञवाली र प्राध्यापक कृष्णप्रसाद पाण्डे निर्णायक भई मूल्याङ्कन गरेका थिए ।
कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सल्लाहकार राजु गुरुङ, केन्द्रिय सदस्य विष्णुप्रसाद पौडेल र पुरुषोत्तम बस्याल, नेशनल प्याब्सन लुम्बिनी प्रदेश सहसचिव जेबी क्षेत्री, रूपन्देही जिल्लाका सल्लाहकार प्रकाश भट्टराई, बुटवल बहुमुखी क्याम्पस नेपाली विषय विभागीय प्रमुख डा. नारायणप्रसाद पन्थ, निवर्तमान अध्यक्ष बिल गुरूङ लगायतको आतिथ्यता रहेको थियो । नेशनल प्याब्सन रूपन्देहीका अध्यक्ष तिलव के.सी.कोअध्यक्षता तथा नेसनल प्याब्सन केन्द्रीय सचिव कृष्णप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । नेशनल प्याब्सन रुपन्देहीका कोषाध्यक्ष विनोद थापा मगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक शंकरप्रसाद गौतमले गरेका थिए ।
कार्यक्रम उपस्थिति सम्पूर्णलाई गायक सौगात सायरले विभिन्न गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए । नेशनल प्याब्सन लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाबाट प्रथम र द्वितीय हुने दुवै विधाका विद्यार्थीहरू दाङको देउखुरीमा यहि माघ १७ गते हुने प्रदेश स्तरीय प्रतियोगिता मा प्रतिस्पर्धाको लागि सहभागी हुनेछ ।