देवदह । रुपन्देहीको देवदहमा बालमैत्री स्थानीय शासन प्रवर्द्धन तथा बालहिंसा बाल विवाह कुलत दुर्व्यसन बिरुद्ध बृहत सचेतनामूलक र्याली निकालिएको छ । देवदह नगरपालिका ७ नं वडा कार्यालयको आयोजना र वडा बाल संजालको सह आयोजनामा उक्त सचेतना र्याली भएको हो । सचेतना र्यालीमा देवदह ७ मा रहेका विद्यालय, बाल क्लब, टोल विकास संस्था र आमा समूहको सहभागिता रहेको थियो ।
सचेतना र्याली देवदह ७ स्थित शितलनगर मदन आस्रित सभाहलबाट व्यानर , बाल मैत्री अधिकारका प्लेकार्ड, सास्कृतिक बाजा सहित निस्किएको र्याली शितलनगर चोक, हिले टोल, लक्ष्मी नगर, पिपलडाडा, कोलिय मार्ग, तल्लो खैरेनी केशब मार्ग हुँदै सुनकौडा, बैरीमाई, शान्तिनगर हुदै देवदह मावि पुगेर समापन भएको थियो । सचेतना र्यालीमा बाल अधिकारको संरक्षण गरौं, बाल अधिकारको प्राप्तिको सुनिश्चितता गरौं, बाल मैत्रीस्थानिय शासन कायम गरौं, बाल विवाह गैर कानुनी हो, बच्चाहरु विद्यालयमा हुन्छन्, कार्यस्थलमा होईन लगाएतका प्ले कार्ड प्रदशन गरिएको थियो।
र्यालीलाई सम्बोधन गर्दै देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले बाल हिंसाको न्यूनीकरण घरबाटै सुरु गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले बालबालिकालाई सुरक्षित, सुसंस्कृत र उज्ज्वल भविष्य दिन अभिभावक, समाज र स्थानीय सरकारको संयुक्त भूमिका आवश्यक रहेको बताउँदै बाल अधिकार संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको थियो । साथै, बालबालिकालाई हिंसा, शोषण र दुर्व्यसनबाट जोगाउन शिक्षाको महत्वपूर्ण भूमिका रहेकोमा उहाँले जोड दिनुभएको थियो ।
कार्यक्रममा र्यालीमा सहभागी हुने बाल क्लब आमा समूह, टोल विकास संस्था, विद्यालयलाई सम्मान गर्नुका साथै प्रस्तुतिका आधारमा मूल्यांकन गरि पुरस्कृत समेत गरिएको थियो । र्यालीमा सगरमाथा आवसीय मा.वि प्रथम, ग्रीनप्लान्ट आवासीय मावी द्वितीय, देवदह बोर्डिङ स्कुलले तृतीय र देवदह मा.वि र देवदह आमा समुहले सान्त्वना स्थान प्राप्त गरेका थिए । कार्यक्रम बालमैत्री सहजकर्ता बबिता भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।