देवदह । नेपाल राष्ट्रिय शिक्षक संगठन देवदहको चौथो अधिवेशन सम्पन्न भएको छ । चैत्र ९ गते शनिवार केरवानी मा.विको शभाहलमा सम्पन्न भएको चौथो नगर अधिवेशनले दोस्रो कार्यकालको लागी यज्ञ प्रसाद न्यौपानेको अध्यक्षतामा १६ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो ।
जसको उपाध्यक्षमा शिल्ला मल्ल, खुल्ला उपाध्यक्षमा राजकिरण अर्याल, सचीवमा गणेश सापकोटा, सह सचीवमा लक्ष्मी अधीकारी, कोषाध्यक्षमा हुमलाल ढकाल र सह कोषाध्यक्षमा अनिता बुढाथोकी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा चिरञ्जीवी रेग्मी, कल्पना पोखरेल, पुजा पौडेल, अष्ट कुमार यादब, सुनिता लामिछाने, नारायण भुषाल, शीला ज्ञवाली, रीता पाण्डे र नाम कुमारी परियार चयन भएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरपालिकाको कार्यवाहक नगर प्रमुख विद्या लक्ष्मी गुरुङले नेपाल राष्ट्रिय शिक्षक संगठनले विगतमा गरेको संघर्षका कारण विभिन्न हक अधिकार स्थापित गर्न सफल भएको उल्लेख गर्दै, अझ यसलाई रचनात्मक रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले शिक्षकहरूलाई विद्यार्थीहरूको शैक्षिक स्तर सुधार गर्दै उत्कृष्ट नतिजा प्राप्त गर्ने दिशामा प्रेरित रहन आग्रह गर्नुभयो। साथै, शिक्षाको विकास समाजको समग्र विकाससँग प्रत्यक्ष जोडिएको हुदा नगर क्षेत्रबाट शिक्षालाई प्रोत्साहन गर्न २०% बजेट शिक्षा क्षेत्रमा लगानी गरिएको जानकारी दिनुभयो। उहाले शैक्षिक क्षेत्रमा निरन्तर सुधार गर्दै गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्न सबै पक्ष मिलेर लाग्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष धनिश्वर गौतम, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य प्रकाश अर्याल, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय परिषद सदस्य ऋषिश्वर अर्याल, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सचिव यज्ञ प्रसाद सापकोटा, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य भिमदेव ढकाल, शिक्षक महासंघ देवदह नगर कमिटीका अध्यक्ष निर्मल ढुङ्गाना, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला सचिवालय सदस्य तथा संस्थापक अध्यक्ष खेमानन्द ज्ञवाली, पब्लिक मा.विका प्रधानाध्यापक डिलाराम खनाल, रेडक्रस देवदह उपशाखका सभापति कृष्ण प्रसाद न्यौपाने, नेपाल शिक्षक महासंघका सचिव होमनाथ शर्मा लगएतले आ-आफ्नो भनाई राख्नुभएको थियो ।
सोही अवसरमा शिक्षक हिरो २०८१ बाट श्री महामाया भवानी मा.विका सहायक प्रधानाध्यापक चिरञ्जीवी रेग्मी सम्मानित गरिएको थियो । साथै अवकाश प्राप्त शिक्षक, उत्कृष्ट शिक्षक तथा कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन देवदहका अध्यक्ष यज्ञ प्रसाद न्यौपानेको अध्यक्षत, उपाध्यक्ष मेघराज घिमिरेको स्वागत र सचिव यमलाल अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।
देवदहका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत १७३ जना शिक्षकहरु संगठनमा आवद्ध रहेको संगठनले जानकारी दिएको छ । संगठन यस अधिवेशन देखी शिक्षक संगठन अक्ष्यकोषको सुरुवात समेत गएको छ ।