देवदह । रुपन्देहीको देवदहस्थित भवानीपुरमा आयोजित भजन प्रतियोगिता सफलता साथ सम्पन्न भएको छ। “सनातन, संस्कृती र सभ्यताको गर्विलो इतिहास, प्रवर्द्धन र संरक्षणका लागि उज्यालोको प्रयास” भन्ने नाराका साथ कोलिय राज्य बुद्ध मावली क्षेत्र विकास समितिको आयोजना र उज्यालो लाल्टिन प्रतिष्ठान रुपन्देहीको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो।
प्रतियोगितामा हरि किर्तन सत्सङ सेवा समूहले प्रथम स्थान प्राप्त गर्दै नगद १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्यो। त्यसैगरी, श्री महामाया भवानीपुर भजन समूहले द्वितीय स्थानसहित ७ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्दा नव दुर्गा सांस्कृतिक समूहले तृतीय स्थानसहित ५ हजार रुपैयाँ र प्रमाणपत्र हात पारे। भवानी बाल समूहलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले विजेता समूहहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र र सहभागी सबै समूहलाई सहभागिता प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रमुख खरेलले मौलिक संस्कृति, परम्परा र रीतिरिवाज संरक्षणमा यस्ता कार्यक्रमहरूले ठूलो योगदान पुर्याउने बताउनुभयो। उहाँले देवदहलाई पर्यटनको ‘हव’को रूपमा विकास गर्ने योजनामा अघि बढिरहेको जानकारी गराउँदै भवानीपुर क्षेत्रको संरक्षणका लागि नेपाल सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको समेत जानकारी दिनुभयो। यस क्षेत्रको ऐतिहासिक महत्त्व उजागर गर्न उत्खनन र प्रचार-प्रसार आवश्यक रहेको उहाँको भनाइ थियो। रामनवमी मेलालाई आगामी वर्षहरूमा अझ भव्य र व्यवस्थित बनाउने योजना रहेको समेत नगर प्रमुखले उल्लेख गर्नुभयो।
कार्यक्रम कोलिय राज्य बुद्ध मावली क्षेत्र विकास समितिका अध्यक्ष लिला बल्लभ भट्टराईको अध्यक्षता, उज्यालो लाल्टिन प्रतिष्ठानको अध्यक्ष समज्ञा अधिकारीको स्वागत र सदस्य मुकेश ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रमको संयोजन अस्मिता थारुले गर्नुभएको थियो ।